माथिल्लो अरुण जलविद्युत् आयोजनामा ४९ प्रतिशत जनताको लगानी हुन्छ - कुलमान घिसिङ
फाइल फाेटाे

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने बताएका छन् ।

बिहीबार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाका लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

उनले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ३२ अर्ब सर्वसाधरण जनताको सेयर (आइपिओ) बाट उठाउने बताए । 

घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजनामा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत् प्राधिकरण लगायतका संस्थापक सेयर रहने बताए । उनले माथिल्लो अरुणमा जलविद्युत् आयोजनामा ब्लेन्डेड फाइनान्सिङको पहिलो प्रकारको मोडालिटीमा निर्माण गरिने उल्लेख गरे । 

निर्देशक घिसिङले ब्लेन्डेड फाइनान्सिङ मोडेल बन्ने आयोजनाले मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक हलचल ल्याउने दाबी गरे । उनले चार अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झन्डै ५० प्रतिशत ऊर्जा उत्पादन हुने दाबी गरे । 

घिसिङले सुख्खा समयमा समेत ३० प्रतिशत विद्युत् उत्पादन हुने बताए । उनले आयोजनामा लगानीको लागि एचआइडीसीएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने बताए । उनले आयोजना तुलनात्मक रुपमा सस्तो भएकाले धेरैलाई सहभागी बनाएर नमूना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा काम अगाडि बढाउने बताए ।



घिसिङले माथिल्लो अरुणमा जलविद्युत् आयोजना नेपालको गेम चेन्जरको रुपमा राखिएको बताए । उनले आयोजना निर्माण सम्पन्न हुँदा नेपालको जलविद्युत‍्को क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताए । 

बिहीबार प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक घिसिङले, एचआईडीसीलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र प्रवर्द्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक फणिन्द्र जोशीले हस्ताक्षर गरेका थिए । सहवित्तीयकरणमार्फत आयोजनामा करिव ५३ अर्ब रुपैयाँ लगानी हुनेछ । सहवित्तीयकरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषलगायतका बैंक तथा वित्तीय संस्था सहभागी छन् । 



समझदारीमा हस्ताक्षर भएको मितिबाट १२० दिनभित्र ऋण लगानीको टर्मसिट तयार गरी एक वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण वि.सं २०८१ पुसबाट शुरु गरी वि.सं.२०८७ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइ टेण्डर डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्श दाता छनोट कार्य भइरहेको छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया