नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष
फरकधार / ३१ भदौ, २०७९
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 



प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको बताए । 

उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताए । 



उनले भने, ‘हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ । तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तरपनि शुरुवात गर्ने हाम्रो सोचाइ छ । शुरुवात गर्नेछौँ । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’



सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिव १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । 

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्‍याइनेछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ । 

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् । 

ट्रफी आज सुदूरपश्चिम पठाइने र शनिबार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते बागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम छ । 

त्यस्तै, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्शालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते,  कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । 

गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्‍याइनेछ । 

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:४६:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया