अध्यक्ष ओलीले भने - गठबन्धनले देशलाई ओरालोतिर लग्यो, अब एमालेले जित्नुपर्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताए । उनले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढङ्गले अघि बढ्ने बताए ।

‘अब हामी देशलाई अहिलेको जस्तो अप्ठ्यारो स्थितिबाट ओरालो लागेको स्थितिबाट, देशलाई गठबन्धनले ओरालोतिर लगिरहेको छ,’ ओलीले भने, ‘यस ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने माथि चढाउने, राजनीति हिसाबले, लोकतन्त्रको अभ्यासको हिसाबले संविधान कार्यान्वयनको हिसाबले, शान्ति सुव्यवस्थाको हिसाबले, भ्रष्टाचार नियन्त्रणको हिसाबले, सुशासनको हिसाबले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढङ्गले अघि बढ्नेछौँ । प्रभावकारी ढङ्गले अघि बढ्नेछौँ ।’

अध्यक्ष ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने बताए । उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए । उनले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गरे। 

‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशहरूको, सातै प्रदेशको निर्वाचन भइरहेको छ । यति बेला देशलाई हार्न दिनु हुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एक छिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गर्दछु । नेपाल नेपाली जनाले चलाउने हो, अरू कसैले होइन । संविधान दिवसलाई एउटा राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्छ । नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता हार्नु हुँदैन, विकासको अभियान हार्नु हुँदैन । यसका लागि सक्रिय भएर लाग्न आग्रह गर्दछु ।’



अध्यक्ष ओलीले  संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने बताए । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत् वाकथन (पदयात्रा) सुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरु भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 



  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ९:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया