ओलीलाई देउवाको व्यङ्ग्य - परमादेशले नै हामीलाई सँगै काम गर्ने मौका दियो
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुनर्स्थापना गरेर न्याय गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद् पुनर्स्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन् । 

उनले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै होइन संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए । परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्षसँगै बसेर काम गर्न नपाइने भन्दै परमादेशले भेट गर्ने मौका दिएको बताए । 

उनले भने, ‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ । यो संसद नै परमादेशबाट आएको हो । त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ । धेरै ठूला ठूला विधेयक पास गर्न सकिँदैनथ्यो । परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशूस गरेको छु ।’

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताए । उनले सरकारले बहुपक्षीय तथा द्विपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गरे । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि बताए । 

उनले भने– ‘आउँदो मंसिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको संघ, प्रदेश सभा सदस्यहरुको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुरा उहाँहरूलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चाहान्छु । निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने नै छ ।’



उनले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।



  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १४:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया