माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल नभएको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तिम बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताए ।
उनले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध व्यहोर्नुपरेको बताए । 'सरकार गठनको तीन वर्षमै संविधानानुसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो,' उनले भने ।
यस्तै, प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले आरोप लगाएजस्तो अहिलेको सरकार परमादेशी नभई जनदबाब र संविधानानुसार बनेको उनले बताए ।
ओलीले संसदमा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछ कि के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘संविधान हामीले नै बनाएका होइनौं र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद र नेपाली जनता भेँडा हुन र ?’
उनले अहिलेको सरकारले संविधान जोगाएको पनि बताए । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ?’ उनको प्रतिप्रश्न छ ।
अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद विघटन गरेको पनि बताए । उनले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद विघटनमा लागेको बताए ।
उनले परमादेशको सन्दर्भ र संसदमा जारी सुनुवाइअनुसार यो सरकार जनताको दबाब, संविधान र संसदको बहुमतबाट बनेको प्रष्ट भएको उनको भनाइ छ ।
बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाइबाट पुष्टि भएको उनले बताए ।
अन्तिममा उनले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताए । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दाबी गरे ।
'यस्तै बाँकी तपाई (ओली)ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौँला,' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।