मधेसमा आज जितिया पर्व मनाइँदै
तराईमा कठोर व्रतका रूपमा मनाइने गरिन्छ जितिया पर्व
फाइल तस्बिर

मधेसका महिलाहरूले कठोर व्रतका रूपमा मनाउने जितिया पर्व आजदेखि सुरु भएको छ । आफ्नो सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिँदै आएका उनीहरूसँगै नवविवाहितता महिलाले समेत जितिया प्रारम्भ गर्न गर्दछन् ।

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यो पर्व सप्तमीको दिन नहायखाय गरेर यो पर्व सुरु हुने गर्छ । 

३६ घण्टासम्म पानी पनि नखाई मनाइने जितिया पर्व छठपछिको दोस्रो ठूलो पर्वको रूपमा लिइन्छ । जितिया पर्व तीन दिनसम्म मनाउने गरिन्छ । सन्तानको दीर्घायु, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास सुरु गरेका छन् । 

व्रत बस्नु अघि शुक्रवारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट  र पिना प्रसादको रूपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए । बिहानैदेखि निराहार एवं निर्जल व्रत सुरु गरेर आज साँझ ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्नेछन् । 

यसैबीच, जितिया पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । उनले आश्विन कृष्ण अष्टमीका दिन विशेष गरी तराइबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व रहेको उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको भन्दै यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा सहयोग पुर्‍याएको बताए ।

जितिया पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना सन्देश व्यक्त गरेकी छन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न परिकारहरू खाने र खुवाउने प्रचलन परापूर्व कालदेखि चल्दै उनले उल्लेख गरेकी छन् । 



‘जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समय सापेक्ष सुधार गर्दै जानु पनि जरुरी छ ।’  



  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ९:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया