निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । शनिबार महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएपछि उनले सर्वोच्च अदालत फर्कने तयारी गरेका हुन् ।
अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जबराले अदालत फर्किने नपाउने भन्दै केहीले विरोधसमेत गरिरहेका छन् ।
प्रतिवेदन बुझाइए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातबाट समाप्त भएकाले प्रतिवेदनको प्रक्रिया के हुने भन्ने अन्योल छ । तर, गठबन्धनको प्रतिवेदनले अर्को संसदमा टुंग्याउन उपयुक्त हुने मत प्रतिवेदनमा उल्लेख गरेको छ ।
रञ्जन कोइरालाको मुद्दामा सजाय घटाएको, राजस्व छलीको मुद्दामा गलत व्याख्या गरेको, संवैधानिक दायित्व पूरा नगरेको, संवैधानिक नियुक्तिमा जिम्मेवारपूर्वक भूमिका निर्वाह नगरेको लगायतका ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा उल्लेख छ ।
बहुमत सदस्यले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका थिए । फरक मत लेख्ने नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।