तयारी पोसाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बर अन्तर्गतका अन्तर्राष्ट्रिय शाखा मार्फत नेपाली तयारी पोसाकको बजार प्रवर्द्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । 

नेपाल तयारी पोसाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरूलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन एक मात्रै विकल्प भएको बताए । अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखा मार्फत तयारी पोसाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ । चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए । नेपालका तयारी पोसाकको निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाई छ । 

तयारी पोसाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । गार्मेन्टका बस्तु एवं तयारी पोसाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै अध्यक्ष मल्लले निर्यात प्रवर्द्धन गर्नका लागि चेम्बरले आवश्यक सबै व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल तयारी उद्योग पोसाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए । यो आर्थिक वर्षमा निर्यात १० अर्ब पुर्‍याउने आफूहरूको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाई छ ।

स्वदेशी बस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो थियो । नेपालमै उत्पादित बस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १५:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया