टुकुचा उत्खनन गर्ने महानगरको अभियान जारी
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । सोमबार महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । 

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए ।

उनले महानगरपालिका विकासका लागि अघि बढी सकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । उनले कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए ।

 ‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ,’  उनले भने, ‘त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’

आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १४:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया