कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट देख्ने, दिसा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांसपेशी दुख्ने, बाउँडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएको जनाएको हो ।
डा. केसीको पेटमा अल्सर भई आन्तरिक रक्तस्राव भएको, पोषण तत्त्वहरू र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको जनाइएको छ । रक्तस्रावमा गडबडी भई अङ्ग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने सम्भावित जटिलता देखिएको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले थप जोखिम हुनसक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारका लागि बहु विशेषज्ञ भएको विशिष्टीकृत सुविधा सम्पन्न अस्पतालमा रेफरका लागि चिकित्सकले सल्लाह दिएका छन् ।
विभिन्न सात बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औँ सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।