बझाङमा तीन मतदान स्थल सारियो, दुई थपिए

निर्वाचन आयोगले बझाङमा दुई मतदान स्थल थप गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा मतदान स्थल थप भएका हुन् । 

छबिसपाथिभेरा गाउँपालिका - ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा नयाँ मतदान केन्द्र थप गरिएको छ । यस्तै, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर शिक्षोदय मावि बागथलामा मतदान स्थल थप गरिएको हो । 

बझाङमा दुई मतदान स्थल थपिएसँगै १३५ वटा मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल गौतमले जानकारी दिए । 

त्यस्तै, जिल्लामा तीन वटा मतदान केन्द्र सारिएका छन् । साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयको मतदान स्थललाई सारेर सामुदायिक भवन यराङ्कुरीमा लगिएको छ । थलारा गाउँपालिका - ६ स्थित त्रिभुवन माविमा रहेको मतदान स्थललाई परिवर्तन गरेर वडा नम्बर ६ को वडा कार्यालय पिखेतमा मतदान स्थल कायम गरिएको छ । 

त्यस्तै, थलारा गाउँपालिका ८ को शैलेश्वरी आधारभूत विद्यालयको मतदान स्थललाई सोही वडाको कार्यालयमा कायम गरिएको प्रमुख गौतमले बताए । बाढी पहिरोको कारण पूर्वाधार क्षति भएका, बहुसङ्ख्यक जनसङ्ख्याको बसोबास भएको तथा टाढा दुरी भएका कारण मतदान स्थल हेरफेर गरिएको प्रमुख गौतमले बताए । 

बझाङमा प्रतिनिधि सभाका लागि एउटा निर्वाचन क्षेत्र छ भने प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ वटा स्थानीय तह रहेको बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेका छन् । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १६:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया