पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधिसभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्ननहुने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताउँदै उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताए ।
नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्न नहुने उनको भनाइ छ ।
स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए ।
मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताउँदै नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिस्पर्धा गर्नसक्ने जाति भएको दाबी गरे । आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।