विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवं पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे ।
पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, संघीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्र— यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ ।
नेपाल अब असफल राज्य हुन र नेपाली सेना मात्र गिजोलिन बाँकी रहेको मिश्रले बताए । ‘राष्ट्रपतिदेखि न्यायालय, प्रशासन, प्रहरी, विश्वविद्यालय, संवैधानिक निकाय आदि सबै क्षेत्र राजनीतिबाट नराम्रोसँग गिजोलिएका छन्,’ उनले भने, ‘अब नेपाली सेना मात्र गिजोलिन बाँकी छ । सेना पनि गिजोलिएको खण्डमा यो देश असफल राज्य हुन केही बेर लाग्दैन ।’
यस किसिमको परिस्थितिलाई बदलिँदो भूराजनीतिले अझ पेचिलो बनाउँदै गएको उल्लेख गर्दै उनले संकटका बेला सदुपयोग गर्न ‘कुशन संस्था’का रूपमा संवैधानिक राजसंस्था पुनःथापित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि आफूलाई लागेका धारणा पुस्तकमार्फत सार्वजनिक गरेको उनले बताए । आफ्ना धारणा सबैले मान्नैपर्छ भन्नेमा आफू नरहेको र यसलाई स्वीकार–अस्वीकार गर्ने छनोट सबैको रहेको उनले प्रस्ट्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।