पोखरामा नयाँ सम्मेलन केन्द्र बन्दै, १ अर्ब ६१ करोड खर्च हुने अनुमान
सांकेतिक तस्बिर

पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन । 

प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ । पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।

हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नकै लागि उक्त केन्द्र बनाउन लागिएको महानगरले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले सम्मेलन केन्द्र बनाउन चासो दिएको हो । केन्द्र निर्माणका लागि डीपीआर समेत भैसकेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलका अनुसार प्रदर्शनी केन्द्रको ३३ रोपनी जमिनमा सम्मेलन केन्द्र बनाउन डीपीआर गरिएको हो । केन्द्र बनाउन बजेटसमेत विनियोजन गरिसकिएको छ । संघ सरकारले चालू वर्षमै खर्च गर्ने गरी १७ करोड रुपैयाँ विनियोजन गरेको हो । स्टिमेट अनुसार केन्द्र निर्माण गर्न १ अर्ब ६१ करोड खर्च लाग्ने अनुमान छ ।

९ रोपनी जग्गामा बेसमेण्टसहितको एउटा हल बन्ने छ । त्यहाँ ४ वटा ५० देखि १ सय जना अट्ने हल निर्माण हुनेछ भने अर्को २ हजार क्षमताको ठूलो हल बनाइने छ । बाँकी जग्गामा पार्किङ र प्रदर्शनी स्थल बन्ने छ । केही समयभित्रै टेण्डर प्रक्रिया अघि बढ्ने पौडेलले बताए । गण्डकी सरकार गठन भएकै वर्षदेखि पोखरामा अन्तराष्ट्रिय सभागृह बनाउने निर्णय गरेर बजेट समेत विनियोजन हुँदा समेत कार्यान्वयनमा गएको थिएन ।

अहिले पनि निर्माण पक्का भएको भने छैन । ‘पीपीपी मोडलमा बनाउने भनेको हो । अध्ययन एक चरण सकियो, तर अहिले रोकिएको छ,’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका जनसम्पर्क अधिकृत कमल थापाले भने, ‘निर्वाचन अघि कुनै काम हुँदैन । त्यसपछिको नेतृत्वले अघि बढ्छ ।’





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ८:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया