महिला साफ : भारतको बर्चस्व अन्त्य, बंगलादेशलाई ऐतिहासिक सफलता

बंगलादेशलाई नयाँ विजेता बनाउँदै छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सकिएको छ । दक्षिण एसियाली क्षेत्रका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता २१ भदौबाट सुरु भएर ३ असोजमा सकिएको हो । 

प्रतियोगिताका १२ खेलमा ५९ गोल भए । प्रतियोगितामा सर्वाधिक गोल गर्ने टोली बंगलादेश बन्यो । उसले २३ गोल गर्दा श्रीलंका र माल्दिभ्स गोलविहीन बने । माल्दिभ्सले १९ गोल बेहोर्दै सबैभन्दा बढी गोल खाने टोली हुँदा बंगलादेशले सबैभन्दा कम एक गोल खायो । 

त्यस्तै, साफ इतिहासमा भारत पहिलोपटक बाहिरिँदा भुटानले पहिलो जित दर्ता गर्‍यो । यही साफमार्फत पाकिस्तानले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको छ । 

छैटौं संस्करणको महिला साफलाई फर्केर हेर्दा 

चार ह्याट्रिक

यो संस्करणको साफमा चार ह्याट्रिक भए । जसमा बंगलादेशकी कप्तान सबिना खातुनले दुई तथा भारतकी अञ्जु तामाङ र पाकिस्तानकी नादिया खानले एक/एक ह्याट्रिक पूरा गरे । 



सबिनाले पाकिसतान र भुटानसँग ह्याट्रिक पूरा गर्दा प्रतियोगिताभर ८ गोल गरिन् । अञ्जु र नादियाले माल्दिभ्सविरुद्ध एकै खेलमा समान चार/चार गोल गरे । 

आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानको पुनरागमन



पाकिस्तानले यही साफमा आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्‍यो । ऊ फिफाको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएको थिएन । ७ सेप्टेम्बरमा चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको पाकिस्तानले उक्त खेलमा ३–० को पराजय बेहोरेको थियो । 

साफको समूह ‘ए’ मा रहेको पाकिस्तान तीन खेलमा २ हार र एक जितको नतिजा निकाल्दै तीन अंकका साथ समूह चरणबाटै बाहिरियो । उसले बंगलादेशसँग ६–० को हार बेहोर्दा माल्दिभ्सलाई ७–० ले हराएको थियो । 

माल्दिभ्स र श्रीलंका गोल तथा अंकविहीन

छैटौं संस्करणको साफमा माल्दिभ्स र श्रीलंका गोल तथा अंकविहीन रहँदै घर फर्किए । समूह ‘ए’ मा रहेको माल्दिभ्सले १९ गोल बेहोर्दा एक गोल पनि फर्काउन सकेन । उसले बंगलादेशसँग तीन, भारतसँग ९ र पाकिस्तानसँग सात गोल खाएको थियो । 

तीनै खेलमा पराजय बेहोरेको माल्दिभ्सबिना अंक समूह चरणबाटै बाहिरियो । त्यस्तै, समूह ‘बी’ मा रहेको श्रीलंकाले ११ गोल बेहोर्दा एक गोल पनि फर्काउन सकेन । उसले भुटानसँग ५ तथा नेपालसँग ६ गोल खाएको थियो । 

दुई खेलमा पराजय बेहोरेको श्रीलंकाबिना अंक समूह चरणबाटै घर फर्कियो । 

भारतको १२ बर्से एकछत्र राजको अन्त्य 

अपराजित रहँदै अघिल्ला पाँचै संस्करणको उपाधि जितेको भारत यसपटक दुई हार बेहोर्दै सेमिफाइनबाटै बाहिरियो । समूह चरणमा बंगलादेशले ३–० ले हराउँदै साफमा भारतको २५ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाएको थियो । त्यसपछि, सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर घर फर्कायो ।

बंगलादेशले यसअघि सन् २०१६ को साफको समूह चरणमा भारतलाई बराबरीमा रोक्दा त्यही संस्करणको फाइनलमा पराजित भएको थियो । नेपाल भने चार पटक फाइनल र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

यी दुई हारसँगै महिला साफ च्याम्पियनसिपमा भारतको १२ वर्षे एक छत्र राजको अन्त्य भएको छ । 

भुटानको ऐतिहासिक जित र सेमिफाइनल यात्रा

पछिल्ला वर्षमा युवा खेलाडीहरू उत्पादनमा विशेष ध्यान दिइरहेको भुटानले एकेडमीमा लगानी बढाइरहेको छ । त्यसको परिणाम भुटानी टोलीले आफ्नो प्रदर्शनमा सुधार गरेको देखियो । यसपटक साफ खेल्न नेपाल आएको भुटानी महिला सिनियर टोलीमा पनि युवा खेलाडीको बर्चस्व थियो । भुटानले यी युवा उच्च प्रदर्शनमा साफ इतिहासमै पहिलो जित हात पार्दै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्‍यो ।

समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपालसँग ४–० ले पराजित भए पनि अर्को खेलमा श्रीलंकालाई ५–० को फराकिलो अन्तरले हराउँदै भुटानले पहिलोपटक साफ च्याम्पियनसिपको सेमिफाइनल स्थान बनाएको हो । 

सेमिफाइनलमा भने कमजोर प्रदर्शन गरेको भुटान बंगलादेशसँग ८–० को फराकिलो हार बेहोर्दै बाहिरिएको थियो ।

बंगलादेश साफको नयाँ विजेता

महिला साफ च्याम्पियनसिपले १२ वर्षपछि बंगलादेशलाई नयाँ विजेताका रूपमा पाएको छ । 

बंगलादेश सोमबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै साफको नयाँ विजेता बनेको हो । यसअघिका पाँचै संस्करण भारतले जितेको थियो ।  

व्यक्तिगत अवार्डमा बंगलादेशको ‘क्लिन स्विप’

यो साफको व्यक्तिगत अवार्डमा पनि बंगलादेशले ‘क्लिन स्विप’ गर्‍यो । कप्तान सविना खातुनले सर्वोत्कृष्ट तथा सर्वाधिक गोलकर्ताको अवार्ड हात पार्दा र रुप्ना चम्मा उत्कृष्ट गोलरक्षक चुनिइन् ।

सबिनाले प्रतियोगिताभर दुई ह्याट्रिकसहित ८ गोल गर्दा रुप्नाले एक गोल मात्र बेहोरिन् । त्यस्तै, बंगलादेशी टोलीले ‘फेयर प्ले’ अवार्ड पनि हात पार्‍यो ।

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १४:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया