सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे ।
कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो । काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।
महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।