च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ?

साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौं पटक फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेता मा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रूपमा बंगलादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एसियामा अन्य मुलुकले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षा अनुसारको सुधारको सङ्केत देख्न कठिन भएको छ ।

घरेलु मैदानमा दोस्रो पटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैँको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उच्च मनोबलमा पनि थियो । किनकि अघिल्ला संस्करणका भेटमा नतिजा नेपालको पक्षमा थियो । 

बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको सङ्केत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शङ्का गर्ने अनेकौँ पाटा रहे । 

फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा  नेपाली महिला टोली अझै माथि पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुट सम्मको योजना आवश्यक रहेको औँल्याइन् ।

कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भए पनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन । 

प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भए पनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग सुरुवात भए पनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिस्पर्धात्मक खेल देखाउन सकेनन् । फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् ।



नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालीन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो । सोमवार नेपालविरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । 

उसले यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालीन योजना, आदिको उपज हुन् । जुन बंगलादेशले पायो । सन् २०१५ मा बंगलादेशले काठमाडौंमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारमा लिएको थियो । 



यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो । विभिन्न प्रतियोगितामा अनुभव सँगाल्दै आएको बंगलादेशले सुखद् नतिजा दिन थालेको थियो । जुन नेपालले अनुशरण गर्नुपर्ने देखिएको छ । बंगलादेश उदय हुँदै गर्दा भारत पनि नेपाल भन्दा प्राविधिक हिसाबमा बलियो छ । साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बंगलादेश उदाउनु अन्य मुलुकका लागि थप चुनौती बढेको हो । नेपालको स्तर बढाउनका फुटबल विश्लेषक सञ्जीव मिश्रले  योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रास रुटबाट उकास्ने योजनाको आवश्यक छ । तर विडम्बना नेपालको हालत ठिक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिस्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नै पर्ने अवस्था टड्कारो भएको छ ।  

  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १७:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया