एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किए केन्द्रीय सदस्य चापागाईं
फरकधार / ५ असोज, २०७९

प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका हुन्  ।



प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने,‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

नेकपा एकीकृत समाजवादीमा बसेर कांग्रेसको कार्यकर्ता बन्नुबाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको उनले बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको कांग्रेसको कार्यकर्ता बन्नु हो, त्योबाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नुभन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठानेँ,’ उनले भने ।



चापागाईंले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै देशको सच्चा कम्युनिस्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए ।



‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारीपूर्वक फर्किएको छु र बाँकी जीवन एमालेमै रहेर बिताउँछु,’ उनले भने । 

उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकैठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरू पुरनो पार्टीमा फर्किने पनि बताए ।

बैठकमा प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्यद्वय नवराज कुँवर, अमृता अनमोल, सल्लाहकारद्वय शेरबहादुर केसी दिनेश पाण्डे, प्रदेश महासचिव निरु गौतम, प्रचार विभाग रुपन्देहीका सचिव नरेश केसीलगायतले पनि सम्बोधन गरेका थिए ।

बैठकले आउँदै गरेको विजयादशमी, तिहार, छठ एवं नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १८:१५:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया