राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन् ।
विरोधको कार्यक्रमहरुमा असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ ।
विद्यार्थी संगठनहरुले राष्ट्रपतिले कुनै दलको स्वार्थ र इसारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी विफल तुल्याएको आरोप लगाएका छन् । त्यस्तै, राष्ट्रपतिको कदमलाई असंवैधानिक कदमको संज्ञा दिँदै राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्थामाथि प्रहार गरिएको उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा आ–आफ्नो मन्तव्य राख्दै विद्यार्थी नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।