शंकर पोखरेलले भने - सत्ता गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लाग्यो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीबार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताएका हुन् । 

उनले गठबन्धले नागरिकताको विषयलाई षडयन्त्रका रूपमा एमाले विरुद्धमा प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको बताए । ‘एमालेको विजय अभियानलाई रोक्नको लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ । सत्ता गठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रूपमा हेरेको छ । नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ । नेपाली नागरिकहरूले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ,’ कार्यक्रममा उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानहरूले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने सुनिश्चितताको लागि अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला अध्यादेशको माध्यमबाट नागरिकता पाउनबाट वञ्चित भएका थिए । उनीहरूको हकलाई सुनिश्चित गर्न एमालेको सरकारले अध्यादेश जारी गरेको थियौँ । त्यसलाई रोक्नेहरूले अहिले एमालेले अवरोध सिर्जना गरेको प्रचार गर्दै छन् ।’

अहिले नागरिकतामा वैवाहिक अङ्गीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई पोखरेलले आग्रहसमेत गरे । उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले नै अवरोध गरेको बताए । 

महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गर्दै उनले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको बताए  । उनले गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था रहेको बताए ।

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो सांसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताए । पोखरेलले पाँच दलीय गठबन्धन सम्पूर्ण रूपमा असफल भइसकेको दाबीसमेत गरे ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १५:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया