अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताएका छन् । बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ, त्यो देशमा देशमा उत्पादन सम्भव नभएको उनले बताए । बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताए ।
जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताउँदै अर्थमन्त्री शर्माले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताए । मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको उनले बताए ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताए । राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको उनले बताए । समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाब दिनेछ ।
नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै उनले यसमा नाडा पनि तयार हुनुपर्ने बताए । अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गरे । नेपालको सन्दर्भमा करिब ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेकोे र १६८ अर्बको डिजेल आयात भएको उनले जानकारी दिए ।
अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताउँदै मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताए ।
नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको बताउँदै उनले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताए ।
मन्त्री शर्माले चारपांग्रे्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताए । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विद्युतीय सवारीसाधनको प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।