कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै ५० करोड रुपैयाँ खर्च गरेको छ । सचिवालयका अनुसार चालूतर्फ ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ ११ करोड ३७ लाख ३२ हजार रुपैयाँ खर्च भएको हो ।

चालूतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ । 

सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ । सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताउनुभयो । प्रदेशसभाले २३ लाख ३० हजार ६ सय १० रुपैयाँ राजस्व आम्दानी गरेको छ । 

मुख्यमन्त्रीसहित सात मन्त्रीको सेवासुविधा भने प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदैन । सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभा कारबाही, पद त्यागलगायतका कारण ३४ सदस्यीयमा सीमित हुन पुगेको थियो । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीको निर्वाचन कार्यक्रम सुरु भएसँगै प्रदेशसभाको कार्यकाल पनि यही १ असोजदेखि समाप्त भएको हो ।  





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १०:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया