डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाको लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो ।
इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरूपमा काठमाडौंमा सुविधा सम्पन्न घर दिने घोषणा गरेको छ । विदेशमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएर इसेवाको ‘मेरो डिजिटल देश’ अभियान सहभागिता जनाउन सकिने बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सुरु गरिएको बताए । उनले सेवा मनी ट्रान्सफरले नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न सफल हुँदै आएको पनि बताए । कोइरालाले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई सफल बनाउनको लागि यो अभियान सार्वजनिक गरेको बताए । उनले विश्वका विभिन्न देशमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफरको अभियानमा सहभागी भई रेमिट्यान्स पठाएर सहयोग गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, ब्राण्ड एम्बास्डर महानायक राजेश हमालले इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा गर्व लागेको बताए । उनले विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स सही ढङ्गले र कम लागतमा नेपाल आउन सके राम्रो हुने बताए । उनले इसेवा मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाए विदेशमा मेहनत गरेर नेपालीहरूले कमाएको पैसा सही रूपमा नेपालमा आउने बताए । खाडी मुलुकमा पुगेर व्यक्तिगत रूपमा नै भेटेर अभियानको विषयमा जानकारी गराउने बताए ।
त्यस्तै नायिका स्वस्तिमा खड्काले कार्यक्रममा इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले इसेवाले यस्ता योजनाहरु बनाउँदा व्यवसायीक रूपमा मात्रै नभएर ग्राहकलाई खुसी बनाउने योजनाका साथ काम गर्दै आएको बताइन् ।
इसेवा मनी ट्रान्सफरका व्यवस्थापक सागर खनालले विदेशबाट नेपालीहरूले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा ५० प्रतिशत लागत कम हुने बताए । उनले नेपालमा आउने रेमिट्यान्स सबै डिजिटल बनाउन सके वार्षिक रूपमा २० अर्ब रेमिट्यान्स बढाउन सकिने बताए । उनले मनी ट्रान्सफरले सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ योजना फागुन ६ गते २०७९ सम्म चल्ने बताए । खनालले योजना अनुसार काठमाडौंमा घर उपहार पाउनको लागि विदेशबाट इसेवा वालेट वा नेपाली बैंकहरुमा डिजिटल रेमिट्यान्स मार्फत रकम पठाउनुपर्ने बताए ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने उद्देश्यले ६ महिने ‘मेरो डिजिटल देश’ अभियान गर्न लागेको कम्पनीले जनाएको छ । यो योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको अर्थतन्त्र बलियो बनाउन तथा विदेशी मुद्रा सञ्चिती बढाउन मद्दत पुग्ने कम्पनीको अपेक्षा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।