भावी प्रधानमन्त्री ओली कि देउवा, ४ मंसिरमा जनमतसंग्रह हुँदैछः शंकर पोखरेल
फाइल तस्वीर ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नै नभएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन् ।

उनले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गरेका छन् । उनले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यकता नरहेको पनि बताएका छन् । 

जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको उनले दाबी गरेका छन् । 

पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्न ५ दलीय गठबन्धन अघि बढीरहेको आरोप लगाएका छन् । उनले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि आह्वानसमेत गरेका छन् ।

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन । भविष्यको प्रधानमन्त्री को हो ? भन्न सक्दैन ५ दलीय गठबन्धन । अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन । जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ,’ उनले कार्यक्रममा भने, ‘मुलुकलाई यो ध्रुवीकरणको दिशाबाट अघि बढाएर एउटा बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेलाई स्थापित गर्ने अभियानका रुपमा आउँदै गरेको निर्वाचन २०७९ हो । जुन निर्वाचनका माध्यमबाट मंसिर ४ गते नयाँ युग तर्फको आरम्भ गर्दैछौँ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा त्यो अभियानमा अब युवाहरु अघि बढ्न जरुरी छ । आजको ध्रुवीकरणलाई रोक्नका लागि, राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको छ ।’



उनले भने, ‘म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा जनताका बीचमा लिएर जाँदैछ । ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु । ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामर्थ्य आउँदैन । न नेता दिनसक्छ, न नीति दिनसक्छ । तिनीहरुको माध्यमबाट देशको भविष्य बन्न सक्दैन ।’

पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । उनले नेकपा एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गरेका छन् ।



पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्ने कुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताएका छन् । उनले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमूलक पात्र भएको आरोपसमेत लगाए । उनले कांग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने समेत बताएका छन् ।

  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १९:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया