घरेलु टाेली पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा इंग्ल्याण्ड विजयी भएकाे छ । ऊ गएरातिकाे खेलमा ६३ रनले विजयी भएकाे हाे ।
याे जितसँगै इंग्ल्याण्ड सात खेलको सिरिजमा २-१ ले अघि बढेकाे छ । यसअघि इंग्ल्याण्डले ६ तथा पाकिस्तानले १० विकेटकाे जित हात पारेका थिए ।
२२२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १५८ रन मात्र बनाउँन सक्याे । पाकिस्तानका लागि शान मसुदले ४० बलमा चार छक्का र तीन चाैकाकाे मद्दतले अविजित ६६ रनको अर्धशतकीय पारी खेले ।
खुसदील शाहले २९ तथा मोहम्मद नवाजले १९ रन बनाए । इंग्ल्याण्डका लागि मार्क उडले तीन आदिल रसिद दुई तथा साम करन र रिच टोप्लेले समान एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
त्यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इंग्ल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२१ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि ह्यारी ब्रुक्स र बेन डुकेटले अविजित रहँदै अर्धशतकीय पारी खेले ।
ब्रुक्सले ३५ बलमा ८ चाैका र पाँच छक्कासहित ८१ रन बनाए । ७० रन जाेडेका डुकेटले ४२ बलमा ८ चाैका र एक छक्का प्रहार गरे । विल ज्याक्सले ४० तथा डेभिड मलानले १४ रनकाे याेगदान दिए ।
घरेलु टोलीका लागि उस्मान कादिरले दुई तथा मोहम्मद हसनैनले एक विकेट लिए । दुई टोलीबीचको चौथो टी-२० भाेली हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।