प्रचण्ड भन्छन् - एक्लाएक्लै हिँड्दा सफल भइएन, अब बाबुरामसँग लामो सहकार्य हुन्छ
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए । 

‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने सङ्कल्प गरेपछि अनि हामी अव एक ठाउँमा केन्द्रित हुने हो । चुनाव आइनै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन,’ कार्यक्रममा प्रचण्डले भने, ‘तपाईँहरूलाई के नलागोस् भने यो दुइटा बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ हामी । र, यो देशलाई फेरी एक चोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौँ ।’ 

आफूहरू एक्ला एक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब मुलुकका फेरी समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने सङ्कल्पसहित आफूहरू सहकार्यमा आएको बताए  । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरूले मर्न चाहेको उल्लेख गर्दै त्यो सङ्कल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे ।

‘यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रीकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । र, हामी हिजो पनि एक अर्काको पूरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो,’ उनले भने, ‘बानी, ब्यहोरा र स्वभावको हिसाबले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरी हामी दुइटा एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।’ 

अध्यक्ष प्रचण्डले भट्टराई र आफूबीच बानी, ब्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने सङ्कल्प लिएको पनि पटक पटक दोहोर्‍याए  । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरूले नयाँ समाजवादी मोडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकिर गरे ।  





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १४:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया