खेपेर पानीको गुजारा : बालबालिकाको पढाई छुट्छ, गाउँलेको समय बित्छ

हेटौंडा - १ सिखरकोटकी ८ वर्षीया चमेली मोक्तान उनकी आमा, हजुरआमा र दिदीसँगै पानी खेप्नको लागि चाँडै उठ्छिन् । अघिल्लो दिनको रित्तो भाँडा बोक्दै उनीहरू छिमेकीहरूसँगै पानी लिन घरभन्दा तल झन्डै ४० मिनेट लाग्ने खोल्सिको कुवामा पानी लिन पुग्छन् । घरकी सानी मान्छे भए पनि चमेलीलले ५ माना पानी घर पुर्‍याए पनि कति कति भन्दै उनकी हजुरआमाले सँगै कुवामा ल्याउने गरेकी छन् । 

बिहान चाँडो उठेर दुई खेप पानी ल्याएन भने त स्कुल नै छुट्छ, चमेलीले भनिन् । ‘दिनमा तीन पटक पानी लिन जानुपर्छ । बिहान दुई पटक, अनि स्कुलबाट आएपछि एक पटक लिन जाने गरेका छौँ,’ उनले भनिन् ।

६४ वर्षीया सानुकान्छी मोक्तान आफू विवाह गरेर आएदेखि यो ठाउँको समस्या उस्तै रहेको बताउँछिन् । उनले भनिन्, ‘पहिले/पहिले त जाँदा आधा घण्टा आउँदा उकालो बाटो भएको कारण अलि बढी समय लाग्थ्यो । अहिले त बुढेसकाल लागेर पनि होला जाँदा पानी ल्याउँदा सबै गरेर २ घण्टा नै लाग्छ । डाँडामा घर छ । पानीको खोल्सो तल छ । गाईबस्तु देखि खान, पकाउन जे गर्न पनि खेपेकै पानीको भर हो ।’ 

‘चुनावको बेला भोट माग्न आउँदा एक भोट दिनुस्, घरघरमा धारो ल्याइदिन्छौँ । तपाईहरुलाई पानीको समस्या रैछ । अब मैले जित्ने बित्तिकै पहिलो काम नै यही गाउँमा पानी ल्याउने हुनेछ,’ भन्ने जनप्रतिनिधिहरू अहिले नफर्किएको उनीहरू गुनासो गर्छन् । गाउँलेहरू दिनमा २/४ पटक कुवाको पानी नखेपी कुनै काममा निस्कन पाउँदैनन् । पानी खानकै लागि आफूहरूले धेरै सास्ती खेप्न परिरहेको स्थानीय पदम मोक्तान बताउँछन् । 

‘खानेपानी मात्रैको समस्या नभएर कपडा धुन, नुहाउन समेत निकै समस्या छ । हेटौंडा उपमहानगरपालिका भन्दै करहरू चाहिँ धेरै तिर्न परिरहेको छ । तर सेवा सुविधा भने बजारकै मान्छेहरूले मात्रै पाउँछन्,’ उनले भने, ‘हेटौंडाको पनि दुर्गम ठाउँ भएर होला यहाँ नेताहरू भोट माग्न मात्रै आइपुग्छन् । हाम्रो लागि पानीको धारो ल्याउन बत्ती बनाउन, बर्खाको भेलले बगाएको बाटो मर्मत गरिदेला भन्ने आस नै मरिसक्यो ।’ 

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका चालू आर्थिक वर्षदेखि खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत जडान भएका २२ हजार धाराको पानी निःशुल्क वितरण गर्ने निर्णय गरेको छ ।  हेटौंडाका नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो । उपमहानगरपालिकाको अनुसार यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । हेटौंडाको सहरी क्षेत्रको स्थानीयले यस्तो सुविधा  पाइरहँदा उपमहानगरपालिका कै ग्रामीण भेगका स्थानीयहरू भने पानीको लागि सास्ती खेप्न बाध्य छन् । 



हेटौंडा उपमहानगरपालिकाले सहरी क्षेत्रका स्थानीयका लागि खानेपानी निःशुल्क वितरण गर्ने निर्णय गरेको छ । तर हेटौंडा-१ मा रहेको नकौली, घ्याङ्सिङटार, सिखरकोट लगायतका स्थानीयहरू पानी खेपेर नै अरू काम गर्न भ्याउँदैनन् । बिहान उठेदेखि पानी खेप्नको लागि घरका सबै सदस्य तयारी हुन्छन् । दुई चार माना पानी बोक्न सक्ने साना बालबालिकादेखि घरका सबै सदस्यहरू घरभन्दा निकै तल खोल्सिमा रहेको कुवामा पुग्ने गरेका छन् । 

बजार क्षेत्रका नागरिकहरूको लागि घर/घरमा धारो तथा अझै पानी पनि निःशुल्क दिन सक्ने उपमहानगरपालिकाको ध्यान हेटौंडाकै गाउँमा भने पुग्न सकेको छैन । जस्ताको छाना हुनेले बर्खाको बेला आकाशबाट आएको पानी भाँडोमा जम्मा गरेर खाने गरेका छन् भने टिन र खरका छाना हुनेहरू घण्टौँ समय लगाएर घरभन्दा तल रहेको खोल्सिको कुवाबाट पानी खेपेर नै जीविका चलाइरहेका छन् । 



गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पानी ल्याइदिन्छु एक पटक जिताइदिनोस् भन्ने जनप्रतिनिधिहरू देखि यहाँका स्थानीयहरू आक्रोशित देखिन्छन् । निर्वाचनको बेला हात जोड्दै आए पनि जितेर गएदेखि एक पटक पनि समस्या बुझ्न नआएको उनीहरूको गुनासो छ । पानी बोक्दा बोक्दै ढिला भयो भने यहाँका बालबालिकाहरूको कक्षा समेत छुट्ने गरेको छ । बिहान विद्यालय जानु अघि र विद्यालयबाट फर्किए पछिको काम पानी ओसार्ने नै भएको बालबालिकाको भनाइ छ । 

हेटौंडा उपमहानगरपालिका-१ नम्बर वडाध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपाने हेटौंडा उपमहानगरपालिकाले अबको केही समय भित्रै यो समस्याको हल गरिने बताउँछन् । नकौली, घ्याङ्सिङटार र सिखरकोट लगायतका नागरिकहरूमा पानी उपलब्ध गराउन विगत तीन वर्षदेखि ट्याङ्की को इन्टेक बनाउने र रिजर्भ ट्याङ्की बनाउने काम भइरहेको उपमहानगरपालिकाको दाबी छ । 

  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १५:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया