कोइराला पक्षको चेतावनी : समानुपातिक सूची नसच्याए विद्रोह गर्छौं

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । 

समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि उनले पार्टीका सभापति शेरबहादुर देउवालाई आग्रह गरे । संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरेर बस्ने काम नगर्न उनले आफ्ना समूहका पदाधिकारीलाई सचेत गराए । उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईंहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनुभएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’

अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिए । उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणासमेत गरे । नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाइनँ भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिँदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १८:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया