‘हार्न नजानेका’ खतिवडाको चुनाव चिन्ह फेरिँदा ‘सूर्यको साख’ जोगाउने एमालेको कसरत
फाइल तस्बिर

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका ‘हेभीवेट’ नेताहरूको नामको चर्चा परिचर्चा हुन थालेको छ । मकवानपुरका नाम चलेका हेभीवेट नेताहरूमध्येका एक नाम हो विरोध खतिवडा । 

पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बनिसकेका खतिवडाको चुनावी चर्चा सुरु भइसकेको छ । पाँच दलीय सत्ता गठबन्धनबाट मकवानपुरको क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फका एकल उम्मेदवार खतिवडा कहिल्यै हार्न नजानेका बोल्ड नेताको रुपासमेत परिचित छन् । यो पटक उनी एकीकृत समाजवादीबाट सिफारिसमा परेका छन् । खतिवडा ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए । 

उनको चुनावी इतिहासलाई मात्रै हेर्ने हो भने विजयी हुने बलियो उम्मेदवारको रूपमा हेर्न सकिन्छन् । तर अघिल्ला निर्वाचनहरूमा जस्तो आगामी निर्वाचनमा सजिलै जित निकाल्न भने उनलाई निकै चुनौती छ । किनभने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिँदै जित हात पारेका उनलाई संसद विगठनको प्रभाव परेको छ । 

यस पटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा एकै रहेको नेकपा एमालेसँग नै प्रतिस्पर्धा गर्नुपर्ने छ । यद्यपि सत्ता गठबन्धनको साथमा निर्वाचनमा होमिन लागेका कारण खतिवडाले आफ्नो विजयको साख जोगाउन सक्लान् कि भन्ने आकलन भने हुन थालेको छ ।

निर्वाचनमा खतिवडाको सफलता
चार पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका खतिवडाको आगामी उम्मेदवारी पाँचौँ हुनेछ । उनी २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेका बलियो नेताको रूपमा लगातार उम्मेदवार बनिरहेका उनलाई जनताको साथ पनि उत्तिकै मिलेको थियो । खतिवडाले पहिलो पटक २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए । सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पराजित गरेका थिए ।

त्यस्तै, २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १ सय ४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए । खतिवडाको निकटतम प्रतिद्वन्द्वी राप्रपाका थापाले ११ हजार ८ सय ७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए ।



२०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बनेका थिए । सो निर्वाचनमा खतिवडाले राप्रपाका दिपक सिंहलाई हराउँदै १८ हजार २ सय ८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंहले १५ हजार ९ सय १ मत प्राप्त गरेर पराजित हुनु परेको थियो । 

त्यसपछि २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि मकवानपुरको क्षेत्र नम्बर  बाट नै खतिवडाको उम्मेदवारी रह्यो । लगातार तीन पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका उनको २०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिने मौका पाए । सो निर्वाचनमा पनि मकवानपुर क्षेत्र– २ का लागि  एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनका उनले चौथो पटक पनि सफलता हात पारे । 



उनले ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित भएका थिए । त्यसपछि गतवर्ष मात्रै खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाए । कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले ८ महिना स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीसमेत सम्हालिसकेका छन् । 

साख जोगाउने एमालेको कसरत
खतिवडा हालसम्म ४ वटा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाटै निर्वाचित भएका हुन् । आगामी निर्वाचनमा एकीकृत साजवादी पार्टीको कलम चिन्हबाट निर्वाचनमा होमिन लागेका तिनै खतिवडालाई हराउने भन्दा पनि सो क्षेत्रमा सधैँ जित्दै आएको चिन्ह सूर्यको साख कसरी जोगाउने भन्ने कसरतमा एमाले लागिपरेको छ । 

खतिवडाले पाँचौँ पटक मकवानपुरको क्षेत्र–२ बाट निर्वाचनमा होमिँदै गर्दा उनको साख भत्काउने दौडमा ‘आफ्नै चेला’ देखिएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर विजयी बनेका खतिवडाको आगामी निर्वाचनमा नेकपा एमालेसँगै प्रतिस्पर्धा हुने भएपछि उनको प्रतिद्वन्द्वी का रूपमा अघिल्लो निर्वाचनमा खुलेर भोट माग्दै हिँडेका युवाहरू एमालेको सूर्य चिन्हको साख जोगाउने दौडधुपमा छन् ।

नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवा नेता महेश बर्तैलाले नेकपा एमाले मकवानपुरले क्षेत्र नम्बर २ टिकट पाउने सम्भावना बलियो बन्दै गएको छ । एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ नयाँ अनुहार, युवा पुस्ता तथा समाजमा भिजेका उम्मेदवारलाई पार्टीले पठाउने बताउँछन् । त्यस्तै एमाले मकवानपुरका नेता कार्यकर्ताको समर्थन अनुसार पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर २ मा बर्तौलाले नै टिकट पाउने लगभग निश्चित भएको बताइन्छ । उसो त बर्तौलाले पनि चुनावी गतिविधि अगाडि बढाइसकेका छन् ।

एकै पार्टी फुटेर दुई वटा बन्दै गाउँ गाउँ भोट माग्न जाँदा केही रोचक देखिए पनि चुनौती पनि उत्तिकै सामना गर्नुपर्ने देखिन्छ । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका बर्तौला केन्द्रीय स्तरमा सजिलैसँग पहुँच राख्न सक्ने नेता हुन् । पार्टीले युवाहरूलाई समेट्नुपर्ने दबाब र गठबन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोसिलो अनुहार लिएर जनतामाझ जानुपर्ने एमाले कार्यकर्ताको मतरहेसँगै उनी क्षेत्र २ मा आफ्नै प्रतिनिधित्व जमाउन दौडधुपमा छन् ।  

  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १६:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया