डोटी कांग्रेसले गठबन्धन नमान्ने

नेपाली कांग्रेस डोटीको पालिका कमिटीले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा जिल्लाका ९ वटै पालिका पदाधिकारीको बैठक बसेको थियो । बैठकले गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार नगर्ने र भोट नहाल्ने निर्णय गरेका हुन् ।

बैठकले कांग्रेस केन्द्रीय कमिटीले डोटीमा गठबन्धन गर्न गरेको निर्णय नमान्ने जनाउँदै डोटी कांग्रेसको मर्म विपरित गरिएको निर्णयका विरुद्ध गएर प्रचारप्रसार र मतदान नगर्ने जनाएको हो । जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परिणामअनुसार गठबन्धन आवश्यक नरहेको बैठकको निष्कर्ष छ ।

विगतमा कांग्रेसका विरुद्ध षड्यन्त्र गर्ने व्यक्ति कुनै पनि हालतमा स्विकार्न नसकिने सभापति मलासीले बताए । गठबन्धनका नाममा कांग्रेसलाई क्षति हुनबाट बचाउन र डोटेली मतदाताको आवश्यकता, चाहनाको कदर गर्दै अगाडि बढ्ने अठोटका साथ सम्पूर्ण पालिका सभापति तथा पदाधिकारीको सल्लाह अनुसार गठबन्धन नगर्न केन्द्रीय समितिलाई दबाब दिने निर्णय भएको उनले बताए । 

दिपायल सिलगढी नगरपालिकाका नगर कमिटी सभापति गणेश मलासीको सभापतित्वमा बसेको बैकमा जिल्लाका नौवटै पालिकाका सभापति तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसअघि जिल्ला कार्य समितिले समेत गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको थियो । कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो । 

जिल्लाका सबै भातृ र शुभेच्छुक संगठनहरुले समेत गठबन्धन स्वीकार्य नहुने जनाउँदै आएका छन् । केन्द्रीय कमिटीले जबरजस्ती लाद्न खोजेको निर्णयले कांग्रेसका नेताहरुमा अन्यौलता छाएको छ । 



जिल्लाका नेताहरुलाई बाहिर पठाएर समाजवादीलाई जिल्ला सुम्पिन खोजेको भन्दै चर्को विरोध छ । केन्द्रले गठबन्धनको निर्णय नसच्याए विद्रोही उम्मेदवार खडा गरेर निर्वाचनमा जाने प्रबल सम्भावना रहेको छ ।
 



  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १९:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया