आजदेखि निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?
फरकधार / १२ असोज, २०७९

४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो ।



आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरूलाई छेक्ने छैन । 

सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छैनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।



आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न भनेको छ ।



दर्ता भएका दलहरूले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रसार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पाउने छैनन् ।

राजनीतिक दलहरूले प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ भने  प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपीलगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

दलहरूले देशव्यापी रूपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारको रूपमा व्यवस्थापन गर्नुपर्नेछ । आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ ।

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ७:५०:४०,   अन्तिम अपडेट : असोज १२, २०७९ बुधबार ७:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया