सभामुख सापकोटा भन्छन् - कमजोरी रहे,  गुणस्तरीय कानुन निर्माण गर्न सकिएन

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गरेका छन् । सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढङ्गले आफ्नै क्षमताको समेत भरपूर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताए । 

‘सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गुणस्तरीय कानुन निर्माणका लागि आफूले प्रतिनिधिसभाबाट प्रयत्न गरे पनि त्यस अनुसारको वातावरण बन्न नसकेको गुनासो समेत गरे । पछिल्ला दिनहरूमा भने गुणस्तरीय कानुन निर्माणका लागि आफूले बिहान १० बजेबाट सुरु गरिएको बैठक बेलुका १० बजेसम्म सञ्चालन गरेको सभामुख सापकोटाको भनाई थियो । 

उनले पछिल्लो बजेट अधिवेशनमा भने ३२ वटा कानुन पारित भए पनि कानुन निर्माणको काममा कमीहरु रहेको उल्लेख गरे । ‘गुणस्तरीय कानुन निर्माण गर्ने कुरामा हाम्रो मेहनत पनि कम छ । हामीले गुणस्तरीय कानुन निर्माण गर्ने कुरालाई गहिरो गरी आत्मसात् गर्न सकेका छैनौँ । प्रयत्न गरेको हो । मेरो हकमा पनि त्यो लागू हुन्छ कि रचनात्मक र सृजनात्मक काम गर्ने मेरो आफ्नै क्षमताको पनि परख गर्ने वातावरण बनेन,’ कार्यक्रममा बोल्दै उनले भने, ‘अन्तिम अन्तिममा आइसकेपछि मात्रै बल गर्नुपर्छ भन्ने भयो । राज्यले कर तिरेको छ । राज्यको करबाट हामीले तलब खाइरहेका छौँ । हिजो काम गर्ने वातावरण बनेन । अहिलेको बनेको छ । त्यसको पनि क्षतिपूर्ति गर्नुपर्छ भनेर हामीले बिहान ११ बजे सुरु भएको बैठक बेलुका १० बजेसम्म सञ्चालन गर्‍यौँ । र, अन्तिममा बजेट अधिवेशनमा ३२ वटा कानुनहरू पारित भएका छन् । जे भए पनि कानुन निर्माणमा कमीहरु रहे ।’

सभामुख सापकोटाले विचार र प्रविधिलाई जोडेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि पटक पटक दोहोर्‍याए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको बलियो सहकार्यमा मात्रै सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयनमा लैजान सकिने पनि बताए । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १४:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया