वन कार्यालय मकवानपुरको लापरबाही : करोडौँ मूल्यको काठ अलपत्र

नेपाल वन पैदावार सम्पत्तिले धनी देश हो । देशका अधिकांश भूभाग वन जङ्गलले ढाकेका छन् । हाम्रा वरपर नै सजिलै पाइने स्रोत साधनलाई उपयोग गर्न सके मुलुक सम्पन्न बन्नबाट अछुतो रहँदैन । वन सँग सम्बन्धित स्रोत साधनलाई सदुपयोग गर्न नसक्दा नेपालमा वर्षेनी करोडौँ रकमको काठ तथा फर्निचर जन्य सामान आयातमा बाहिरिने गरेको छ । 

नेपालको कुल वनमध्ये तराईमा झन्डै ५० प्रतिशत र पहाडमा २५ प्रतिशत रुखहरू बुढो हुँदै धोद्रो पसेर वनको स्वरूप नै बिग्रन थालेको वन विज्ञहरू बताउँछन् । मकवानपुरको विभिन्न क्षेत्रमा रहेका सामुदायिक वनहरूमा धेरै प्रजातिका रुखहरू छन् । फर्निचर देखि अन्य सामान बनाउने काठको रूपमा अग्राखको काठ पहिलो नम्बरमा पर्छ । 

यही काठ वर्षौंदेखि बिक्री नहुँदा डिभिजन वन कार्यालय अन्तर्गतको सब डिभिजन कार्यालय हेटौंडा १५ रातोमाटेका कार्यालय परिसरमा लाखौँका काठहरू कुहिएर बसेका छन् । लगभग ९/१० वर्ष पुराना काठहरू बिक्री गर्न नसक्दा व्यवारिसे अवस्थामा काठ घाम पानीले कुहिएको अवस्थामा यत्रतत्र छन् । लगभग १५ करोड भन्दा बढीको काठ व्यवारिसे अवस्थामा काम नलाग्ने भएका हुन् । 

कार्यालयमा राखिएका काठहरू काम नलाग्ने भन्दा पनि सबैले छानेर बचेको काठहरू रहेको (फरेष्टर) सब डिभिजन कार्यालय रातोमाटेका फरेष्टर देवेन्द्र सञ्जेल बताउँछन् । अघिल्लो वर्ष राम्रो काठहरू ल्याएकोमा सबै बिक्री भएको तर अलि वर्ष अघिका काठहरू भने कसैले पनि लान नमानेपछि अलपत्र जस्तो देखिएको सञ्जेलको भनाई छ । 

पहिले/पहिले काठ किन्न आउने मानिसहरूले छानेर राम्रो काठहरू मात्रै लान पाउने व्यवस्था भएकोले नराम्रो काठहरू एक दशक देखि नै स्टक रहँदै आएको छ । मकवानपुर वन कार्यालय मातहतमा रहेको २ सय १३ वटा वन उपभोक्ता समूहहरू तथा वन पैदावार आपूर्ति समूहको समन्वयमा वन कार्यालयले काठ जम्मा गरेर ठेक्का आव्हान गरेर बिक्री गर्ने गरेको छ । तर यसरी बिक्री गर्दा पनि बिक्री हुन नसकेको १० हजार क्यूफिट भन्दा बढी काठ कुहिएर खेर जाने अवस्थामा घारीले जेलिएर रहेको छ । 

वन कार्यालयले कार्यालय मातहतमा रहेको वन उपभोक्ता समूह मार्फत पनि काठ बिक्रीको लागि टेन्डर आव्हान गर्छ । सोही अनुसार उपभोक्ता समूहहरूले पनि हाइड्रेसन लाइन, सुरुङ मार्ग तथा फास्ट ट्र्याकमा परेका काठहरू सङ्कलन गरेर वन कार्यकालकै मातहतमा बिक्री गरिने गरेको छ । वन उपभोक्ता समूहले घाटगद्दी गरेर राखेको काठहरू पनि समयमै नउठ्दा चट्टा दाउरा पनि कुहिने अवस्थामा पुगिसकेका छन् । 



वन कार्यालय मकवानपुरले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २३ हजार क्यूफिट काठ उत्पादन गरेकोमा हालसम्ममा १५ हजार क्यूफिट बिक्रीका लागि टेन्डर भैसकेको र बाँकी काठको पनि प्रक्रिया भइरहेको कार्यालयका सूचना अधिकारी दीपक अधिकारीले बताए । 



त्यसो त, काठ घाम पानीले खाएपछि अझै बलियो भएको र अब चिरान गरेर मकवानपुरका नागरिकहरूलाई सहुलियत मूल्यमा उपलब्ध गराउने योजना रहेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत शिव सापकोटाको भनाइ छ । उनले भने, 'हामीले आइतबार मात्रै वन पैदावार आपूर्ति समितिमा छलफल गरेर निर्णय गरिसकेका छौँ । बाँकी रहेको ती काठहरू अब मंसिर सम्ममा चिरान गरी हामी मकवानपुरका नागरिकहरूलाई वितरण गर्छौँ । त्यो काठ हामी खेर जान दिँदैनौँ ।' 

वन उपभोक्ता समूहहरूले उत्पादन गरेर समूहका सदस्यहरूलाई बिक्री गरेको सालको काठको आधारमा २५ प्रतिशत काठ वन पैदावार आपूर्ति समूहलाई बुझाउनु पर्ने प्रावधान छ । यसरी बुझाएको काठहरू पुनः ठेक्का मार्फत बिक्री गर्ने गरिएको कार्यालयको दाबी छ । समयमै सरोकारवाला निकायको ध्यान नजाँदा करोडौँ मूल्यको काठ खेर जाने अवस्थामा पुगेको छ। 

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १५:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया