नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने उनले बताए । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने उनले बताए ।
विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको अध्यक्ष भट्टराईले बताए ।
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्षयता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे । सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे ।
राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सख्खर) र गोबर झैँ भएको उल्लेख गरे । आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि अध्यक्ष भट्टराईले नेता, कार्यकर्तालाई निर्देशन दिए ।
नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जाति, भाष अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको उनले बताए । नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको उनको भनाइ छ ।
अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।