मन्दिर पसेको निहुँमा सुनारमाथि कुटपिट: वडाध्यक्ष प्रहरी नियन्त्रणमा
फरकधार / १३ असोज, २०७९

बाजुरामा पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै एक जना दलितलाई कुटेको अभियोगमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा पुगेका छन् । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडी पक्राउ परेका हुन् । अध्यक्ष ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र सुनारले बताएका छन् ।



नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भई हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ऐडीको समूह पूजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै हातपात गरेको सुनारले बताएका छन् । ‘डुम’ भन्दै जातीय विभेद गर्नुका साथै आफूलाई चार पाँच जनाको समूह मिलेर हातपात गरेको सुनारले बताएका छन् ।

वडा नम्बर ७ का वडा अध्यक्ष ऐडी र मन्दिरका पुजारी रङ्ग उपाध्याय विरुद्ध पीडित सुनारले बड मालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछि वडाध्यक्षलाई सोधपुछका लागि जिल्लामा ल्याइएको बडिमालिका प्रहरी चौकीले जनाएको छ । घटनामा संलग्न अरु फरार रहेका कारण उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए ।



आक्रमणमा परी घाइते भएका सुनारको आँखा, कान, नाक र पिठ्युँमा ठूलो चोट लागेको प्रहरी प्रमुख थापाको भनाइ छ ।



  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ११:२०:२१,   अन्तिम अपडेट : असोज १३, २०७९ बिहीबार ११:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया