खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खसी बोका बिक्री हुँदै

बडा दसैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको हो । 

कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीबार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । 

प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्य भन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाई छ ।

थापाले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन् । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरूका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्‍याएको उनको भनाई छ । प्रमुख थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन् । 

ललितपुर सातदोबाटोबाट खसी किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुग्नुभएका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भए पनि च्याङ्ग्राको भाउ धेरै महँगो भएको प्रतिक्रिया दिइन् ।

विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १५:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया