यु–१७ साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई प्राइम सेरामिकले सम्मान गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिकका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टोलीका २३ खेलाडी तथा ६ अफिसियललाई जनही ५० हजार नगदले सम्मान गरेका हुन्।
सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग ४–० ले पराजित भएपछि नेपाल उप विजेतामै सीमित बनेको थियो । नेपाली टोली केही दिनपछि एएफसी यु–१७ एसियन कप छनोटका लागि भियतनाम प्रस्थान गर्दै छ ।
प्राइम सेरामिकका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘यो टिमका सबै खेलाडी प्रतिभावान् देखिएका छन्। श्रीलंकामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे। उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ,’ अग्रवालले भने ‘आसा छ भियतनाममा हुने एसियन कप छनोटमा पनि नेपालको प्रदर्शन राम्रो हुनेछ। यो समग्र टिमको यात्रामा हामी पनि सँगसँगै छौँ। प्रतियोगिताबाट फकिएपछि हाम्रो भेट हुने नै छ।’
उनले भविष्यमा नेपाली युवा टिम मात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टोली उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे ।
‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो। यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ,’ श्रेष्ठले भने।
कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाव दिए। ‘यो टिम प्रतिभाशाली भएकोमा शंका छैन। तर प्रतिभा भएर मात्र पुग्दैन। सकारात्मक मनोवृत्तिको आवश्यकता पर्छ। आत्मविश्वास चाहिन्छ। जस्तो सुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ। यस कारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ,’ शाहीले भने।
टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाए मात्र उनी सफल हुने शाहीको धारणा थियो। ‘उर्जन खेलाडीका रूपमा प्रमाणित भइसकेका छन्। अब प्रमाणित हुने पालो प्रशिक्षणमा हो। टिमको प्रदर्शन राम्रो भए मात्र उनी सफल ठहरिनेछन्। उनलाई सफल बनाउने खेलाडीले हो। यस कारण सबै खेलाडीले देशका लागि,आफ्नो टिमका लागि, प्रशिक्षकका लागि खेल्नुपर्छ,’उनले थपे।
टोलीका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिएका छन् । ‘हामीले श्रीलंकाबाट धेरै कुराहरू सिक्यौँ । त्यो अनुभवले आगामी दिनमा पनि सहयोग पुर्याउनेमा विश्वस्त छु । सम्मानका लागि अग्रवाल सरलाई धेरै धेरै धन्यवाद,’ प्रशान्तले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।