पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको गुनासो रहेको बताएका छन् । बडादसैंको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् ।
‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनु देखिन्छ । नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ।
व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ ।
‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन,’ ज्ञानेन्द्रले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् जय नेपाल ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।