सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिरहाका विभिन्न बजार क्षेत्रसहित सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो ।
सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बजारमा मोबाइलको रिचार्ज किनेर कामतीले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
सो रकम स्थानीय एक सहकारीबाट कामतीले निकालेको प्रहरीलाई बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट एक वर्षअघि घर फर्केका कामती खेती किसानी गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।