आज दसैंको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
फाइल तस्बिर

आज दसैं अर्थात दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । 

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन मङ्गलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरियो । पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 



नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमा मात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 
 
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।



  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ८:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया