बैतडी र बझाङमा यसरी मनाइयाे द्याँची गौरा पर्व

देशका विभिन्न ठाउँमा दसैंको रौनक भएको बेला बैतडी र बझाङका केही स्थानमा द्याँची गौरा पर्व मनाइएको छ । बैतडीको सुर्नया गाउँपालिकाको–८ ढोले, सिगास गाउँपालिकाको चौखाम र बझाङको बित्थडचिर गाउँपालिकाका विभिन्न स्थानमा द्याँची गौरा मनाउने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार मुरलीधर अवस्थी बताउँछन् ।

सुदूरपश्चिमका अन्य ठाउँमा भदौको महिना गौरा मनाउने चलन रहेको भए पनि केही ठाउँमा गौराको रूपमा आश्विन शुक्ल पक्षमा द्याँची मेला मनाइने गरिएको अवस्थीले बताए । 

भदौमा मनाइने गौरालाई लोली गौरा भन्ने गरिएकोमा आश्विन शुक्ल पक्षमा मनाइने गौरालाई ललिता गौरा भन्ने चलन रही आएको छ । भदौको महिना मनाइने गौरामा बिरुडाले गौराको पूजन गर्ने चलन रही आएको भएपनि द्याँची मेलामा भने गौरामा जमरा चढाउने प्रचलन रही आएको अवस्थीले बताए । 

विवाहित महिलाले आश्विन शुक्ल पञ्चमीमा ब्रत बसेर द्याँची मेलामा गौराको पूजा गर्ने चलन रहिआएको सुर्नया–८ ढोलेका स्थानीय तेजबहादुर बोहराले बताए । विवाहित महिलाले गौराको पूजन गरेपछि दुवधागो धारण गर्ने चलन रही आएको बोहराले बताए । उनले भने, ‘द्याँचीमा पनि ब्रतालु महिलाले सगुन फाग गाएर देवीको आराधना गर्ने चलन रही आएको छ ।’

द्याँची मेलाका लागि घर बाहिर रहेकाहरू पनि गाउँघर फर्किने भएकाले रमाइलो हुने गरेको बोहराले बताए । शिवका उपासकहरूले भदौमा गौरा मनाउने र भगवतीका उपासकहरूले आश्विन शुक्ल पक्षमा गौरा मनाउने चलन रही आएको संस्कृतिका जानकार अवस्थीले बताए । 

द्याँची गौराको अवसरमा स्याडीमा रहेको भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १३:४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया