जनकपुरधामको राजदेवी मन्दिरलगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याइयो

आज नवरात्रिको सातौँ दिन अर्थात् फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

यसैबीच जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरलगायतका शक्तिपीठहरुमा पनि आज फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र नेपाली सेनाको गुल्मबाट फूलपातीको डोली लिएर राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको छ । फूलपाती भित्र्याउन नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरु तथा स्थानीयबासीहरुपनि देवीको मन्दिरमा पुगेका थिए । 

जनकपुरधामको राजदेवी मन्दिरबाट महन्थको नेतृत्व र आयोजक महावीर युवा कमिटीको अगुवाईमा बाजागाजासहित निस्केको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपुर्वक पूजापाठ गरी मन्दिरमा भित्राइएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडी बेललाई कपडाले बाँधेर निमन्त्रणा दिइएको हुन्छ ।



विधिपूर्वक तोडेर डोलामा सजाएर बेललाई भगवतीको रूपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराइएपछि फूलपाती सम्पन्न हुन्छ । सोही विधि पछि पण्डालहरुमा बनाइएको माँ दुर्गा भवानीसहितको देवीदेवताको मूर्ति दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ । 



  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १६:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया