गौरिनाथ रिमालको दसैं सम्झना : पहिलाको खुसी छुट्टै थियो
गाैरीनाथ रिमाल
फरकधार / १६ असोज, २०७९

नेपालका अधिकांश जनसंख्याले युगौंदेखि अपनाएको र सबैभन्दा ठूलो मानिएको पर्व दसैं यस पटक निकै फिक्का भएको छ । महामारी अझैं लम्बिरहे संस्कृतिले भरिपूर्ण भनेर चिनिने देश नेपालका अधिकांश चाडपर्व सम्बन्धित परम्परा र संस्कृतिहरू विस्तारै ओझेलमा पर्छन् कि भन्ने चिन्ता सर्वत्र छाएको छ । 



त्यसो त नयाँ पुस्तामा पश्चिमी संस्कृति र प्रविधिले ल्याएको परिवर्तनसँगै दसैं मनाउने तौर–तरिका पनि पहिले र अहिलेमा व्यापक परिवर्तन आएको देखिन्छ ।

संस्कृतिले भरिएको काठमाडौं उपत्यकाको दसैं मनाउने तरिका धेरै फेरिएको छ । ‘दसैंको समयमा टोलभरिका केटाकेटी मिलेर बाग्मती, विष्णुमतीमा नुहाएर बेलुका घर फर्किनुको रौनक बेग्लै थियो ।’ जिन्दगीका आठौं दशकमा यात्रा गर्नै लागेका काठमाडौंका रैथाने गौरिनाथ रिमालले विक्रम संवत् १९९० को दशकका दसैं सम्झिए ।



विगत र वर्तमानका साक्षी रिमाललाई दसैं मनाउने तौरतरिका फेरिनु स्वाभाविक लाग्छ । उनी भन्छन्, ‘अहिले त सारा संसार एक भएको छ । यति राम्रोसँग प्रविधिको विकास भएको छ । मनाउने तरिका फेरिनु स्वाभाविक हो । तर, इतिहास बिर्सिनुहुन्न ।’



अहिलेका दसैंमा भेट नहुने आफन्तजनसँग भेटघाट गर्न सहज भए पनि त्यतिबेलाको दसैंको रौनक उनको स्मरणमा ताजै छ ।

उनी सम्झिन्छन्, ‘हामी केटाकेटी हुँदा अहिले आधा घण्टा पनि नलाग्ने मामाघर पुग्न घण्टौं हिँड्नुपर्थ्यो । त्यसको रमाइलो छुट्टै थियो । दसैं साच्चै दसैंजस्तो हुन्थ्यो ।’

काठमाडौं सहरमा अहिलेको दसैंमा उनी खास रौनक देख्दैनन् । रिमाललाई त्यतिबेला काठमाडौंको बस्ती पातलो भए पनि मानिसहरूको प्रेम निकै बाक्लो भएको र अहिले बस्ती बाक्ला भए पनि एकअर्काप्रतिको प्रेम टाढा बनेको झैं लाग्छ ।

उनी भन्छन्, ‘त्यो समय सबैले सबैलाई चिन्थे । वल्लो–पल्लो घरप्रति विश्वास हुन्थ्यो । दसैं त्यसै रमाइलो हुन्थ्यो । अहिले त हामी सक्दो खुम्चिएका छौं । यो वर्ष पो महामारीले यस्तो भयो । तर, काठमाडौंमा सहरीकरण बढ्दै गएपछि पछिल्ला वर्षमा विस्तारै मानिसहरूका मन खुम्चिन थाले ।’

काठमाडौंको उपत्यकामा विसं २००७ सालको क्रान्तिले कति असर पारेको थियो त ?

रिमाल सम्झिन्छन्, ‘त्यो समयमा डर त थियो नै तर, यहाँ पातला बस्ती हुन्थे । एकअर्काको मोटरको आवाज समेत चिन्ने अवस्था थियो । स्रोत साधन पनि सीमित थिए । छिमेकीका गाईवस्तुहरू पनि राम्रोसँग चिन्न सकिन्थ्यो । बाहिरका मानिसहरू एकदम थोरै थिए । अहिलेको जस्तो अवस्था थिएन । त्यसैले समुदायभित्र दसैं मनाउन त्यति अप्ठ्यारो भएन ।’

पछिल्लो समय भएको प्रविधिको विकाससँग भने रिमाल खुसी छन् । 

उनी भन्छन्, ‘प्रविधिले त निकै सजिलो पनि बनाएको छ नि । अहिले हामी टाढा भएका आफन्तजनसँग भर्चुअल रुपमै दसैं मान्न सक्ने अवस्था छौं । उहिले त्यो कहाँ सम्भव थियो र ?’

राज्य व्यवस्थाको हिसाबले राणा शासनको कालको त्यो समय स्मरण गर्दै रिमाल भन्छन्, ‘त्यो समय राणाका भारदारहरू दसैंका बेला टीका लगाउन जान्थे । दाम चढाउने, ढोग्ने र बाहुनहरूले स्वस्ती गर्ने चलन थियो । जताततै मंगल धूनहरू बजिरहन्थ्यो । हामी त्यो सुनेरै रमाउथ्यौं ।’

उतिबेला मिठो–मसिनो खान र नयाँ लुगा लगाउन दसैं कुर्नुपर्थ्यो,  त्यसैले पनि दसैं अझै धेरै रमाइलो हुन्थ्यो ।

रिमाल सम्झन्छन्, ‘दसैंमा घर वा टोल छिमेकमा बोका खसी र कुखुरा काटिन्थ्यो । दसैंकै लागि भनेर घरमा खसी, बोका, कुखुरा पहिल्यैदेखि पालिएका हुन्थे । अहिलेको जस्तो बजारबाट किन्न पाइँदैनथ्यो । आमा काकीहरू राति नै उठेर चिउरा बनाउँथे । धान काटेको, चिउरा कुटेको कुराले दसैं आएको संकेत दिन्थ्यो । काठमाडौं उपत्यकामा अहिले भने बजारमा देखिने रमझमले दसैं आएको संकेत दिन्छ ।’

त्यो बेला पाउने दक्षिणाले निकै खुसी दिने रिमाल बताउँछन् । उनी भन्छन्, त्यो समय दसैंमा दक्षिणा स्वरुपको केही पैसा मात्रै पाउँदा हामी कम्ता खुसी हुन्थेनौं । आफ्ना साथीसंगीलाई पैसा देखाउन दगुरिहाल्थ्यौं । तर, अहिलेका केटाकेटी दक्षिणा पाउँदा त्यति खुसी हुँदैनन्, किनभने अहिलेकाले त्यस्तो नपाउने चिज नै होइन । वर्षभरि नै पैसा पाइरहने हुँदा केटाकेटीलाई दक्षिणाले त्यतिबेलाको जस्तो खुसी दिँदैन ।’

  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार २१:२०:४६,   अन्तिम अपडेट : असोज १६, २०७९ आइतबार २१:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया