आज महाअष्टमी : महागौरीको उपासनासँगै देवीको पूजा गरी मनाइँदै

आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । 

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ । 
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नास हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ । 

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपीठहरूमा आज विशेष पूजाआजा हुने गर्छ । 

शक्तिपीठहरूमा पशुबली दिई दुर्गा अभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन ।



आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ । आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलन छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।



  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार ७:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया