सन् १९०१ मा पहिलोपटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ ।
सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनका उद्योगी अल्फ्रेड नोबेलले शान्तिसहित विभिन्न विधामा पुरस्कार वितरण गरिन्छ । प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कार :
बाराक ओबामा
सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी आफैंलाई पत्यार लागेको थिएन । सन् २०२० मा ओबामाले आफ्नो आत्म वृत्तान्तमा समेत ‘केका लागि?’ भनेर प्रतिक्रिया जनाएका छन् ।
उनी पदमा पुगेको नौ महिनापछि नै दिइएकाले आलोचकहरूले त्यसलाई अपरिपक्व निर्णय बताएका थिए । मनोनयन दर्ता गर्ने समय उनले शपथ लिएको १२ दिनमा सकिएको थियो । ओबामाले आफ्नो दुई बर्से कार्यकालमा अफगानिस्तान, इराक र सिरियामा सेना तैनाथ थिए ।
यासेर अराफात
प्यालेस्टिनी पूर्व नेतालाई सन् १९९४ मा इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र इजरेली विदेश मन्त्री सिमोन प्यारेससँगै नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
ओस्लो सम्झौताका लागि सो पुरस्कार दिइएको थियो। सम्झौताले इजरेल–प्यालेस्टेनी द्वन्द्वलाई समाधानको एउटा आशा देखाएको थियो । अर्धसैनिक गतिविधिमा संलग्न रहेका अराफातलाई सो पुरस्कार दिने निर्णयको इजरेल र देशबाहिर पनि आलोचना गरियो । उनको नामको मनोनयनको विरोधमा नोबेल कमिटीका एक सदस्य ले राजीनामा नै दिएका थिए ।
आङ सान सुकी
बर्मेली नेत्री सुकीले त्यहाँको सैन्य शासनविरुद्ध अहिंसात्मक आन्दोलनका लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । तर, २० वर्षपछि उनी सोही पुरस्कारका कारण आलोचित बनिन् ।
आफ्नो पार्टी र आफू सरकारमा हुँदा अल्पसंख्यक मुस्लिम रोहिन्ज्याको हत्या र गम्भीर मानवअधिकार हननविरुद्ध उनी एक शब्द नबोलेको उनीमाथि आरोप लागेको थियो । उनको पुरस्कार खोसिनुपर्ने माग उठेको थियो ।
आबी अहमद
सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई प्रदान गरिएको पुरस्कार पनि विवादमा तानिएको थियो । इरिट्रियासँग लामो विवाद समाधान गर्न उनले चालेको कदमका लागि सो पुरस्कार दिइएको थियो ।
उनलाई दिइएको सम्मानको पनि आलोचना भएको थियो । अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौज पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको थियो । टिग्रेमा भएको युद्धमा हजारौंको मृत्यु भएको थियो ।
वाङगारी मादाई
केन्याकी दिवंगत अभियानकर्मी बाङगारी मादाईले सन् २००४ मा पाएको नोबेल पुरस्कार पनि विवादमा तानिएको थियो । सो पुरस्कारले सम्मानित हुने उनी पहिलो अफ्रिकी महिला हुन् । उनले एचआईभी र एड्सका विषयमा दिएको हल्का प्रतिक्रियाका कारण उनी पनि विवादरहित बन्न सकिनन् ।
मादाईले एचआईभी भाइरस जैविक हतियारका रूपमा प्रयोगशालामा बनाइएको र त्यो अश्वेत मानिसलाई निर्मूल गर्न बनाइएको टिप्पणी गरेकी थिइन् ।
हेनरी किसिन्जर
सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर पनि यो पुरस्कारबाट सम्मानित भएका थिए । विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका व्यक्तिलाई पुरस्कृत गरिएको भन्दै उनको अमेरिकामा नै विरोध भयो ।
उत्तर भियतनामी नेता ले डक थो सँगै भियतनाम युद्धलाई विराम गराउन महत्वपूर्ण योगदान दिएको भन्दै हेनरीलाई सम्मान गरिएको थियो । कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकाका तानाशाह शासकलाई सहयोग गरेको उनीमाथि आरोप लागेको थियो । न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ’नोबेल युद्ध पुरस्कार’ भनेर टिप्पणी गरेको थियो ।
गान्धीले नपाउँदा आलोचना
अहिंसावादी नेता महात्मा गान्धीको नाम धेरै पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्दासमेत उनले पुरस्कार पाएनन् । तत्कालीन रूपमा शान्ति पुरस्कार छनाेट समितिका अध्यक्ष तथा इतिहासविद् गेर लुन्डसेडले गान्धीको उपलब्धिलाई सम्मान गर्न नसक्ने काम नोबेल इतिहासको सबैभन्दा ठूलो भूल भएको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।