नवरात्रीको आठौं दिन महाअष्ठमीका अवसरमा जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष करिब ३० हजार श्रद्धालु भक्तजनले प्रसाद (लड्डु) चढाएका छन् । प्रसाद चढाउन आइतबार राति १० बजेदेखि नै हजारौं भक्तजन लाममा थिए । राजदेवी मन्दिरमा राति करिब १२ बजेदेखि प्रसाद चढाउने क्रम सुरु भएको थियो ।
पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका कोषाध्यक्ष विकास रायका अनुसार दिउँसो २ बजेसम्म प्रसाद चढाइने भएको छ । महिलाहरू पनि अहिलेसम्म खोंइछ भरिरहेकी छन् । प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिरको सरसफाइ गरी साँझ हुने बोकाबलिको तयारी गरिने कोषाध्यक्ष रायले बताए । बली प्रदान कार्यक्रमको तयारीका लागि २ बजेसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिएको छ ।
गुठी संस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपालि प्रति टाउको २०० रुपैयाँ तोकेको छ । संस्थानले खसी बोकाको रसिद काट्ने कार्य जारी राखेको छ भने रसिद नभएकाहरूले लाइनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाइएको छ । राजदेवीमा बुधबार विजयादशमीका दिन महाप्रसाद कार्यक्रम यसवर्ष पनि भव्यताका साथ हुने भएको छ । विजयादशमीकै दिन रावण वध कार्यक्रमको पनि आयोजना हुने बताइएको छ ।
यसपालि पनि गंगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम आयोजना हुने महावीर युवा कमिटीका अध्यक्ष साहले जानकारी दिए । त्यस्तै, यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएका दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाइनमा लागेका छन् ।
हेरौं तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।