महाअष्टमीका दिन जनकपुरधामस्थित विभिन्न शक्तिपीठहरुमा प्रसाद चढाउनका लागि करिब ३५ हजार किलो लड्डु बिक्री भएको अनुमान गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सो हाराहारीमा लड्डु बिक्री भई करिब दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘बजारमा लड्डुको फरक–फरक भेराइटी थियो । त्यसमा रिफाइन घ्यू वाला लड्डु, शुद्ध घ्यू वाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डुलगायत थिए । यसबाहेक खीर कदम, केसर संदेश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भयो । यस हिसाबले हेर्ने हो भने करिब दुई करोडको आर्थिक कारोबार भएको हुनसक्छ ।’
शहरभित्र करिब २ सयभन्दा बढी मिठाई पसलहरू छन् । २ करोडको मिठाई विक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए ।
बजारमा आइतबार साँझदेखि नै मिठाई पसल सञ्चालकहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो । अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरू पनि अत्यधिक मात्रामा बिक्री भएको देखिएको छ । बजारमा सानादेखि ठुला मिठाई पसल सञ्चालन गर्ने पसलेहरूले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्न सक्ने देखिएको छ ।
सस्तो बजारमा ६ करोडको कारोबार
घटस्थापनाको दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा सञ्चालनमा रहेको सस्तो बजारमा करिब ६ करोडको कारोबार भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले घटस्थापना देखि आज (महाअष्टमी) सम्म करिब ६ करोडको कारोबार भएको जानकारी दिए ।
गोपाल धर्मशालाको भित्री परिसरमा ३४ र बाहिरी परिसरमा ६० गरी कूल ९४ वटा स्टलहरू सञ्चालनमा रहेका छन् । चाड पर्व लक्षित लगाइएको बजारमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री भएको अध्यक्ष महासेठले बताए ।
सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरू अगरबत्ती, साबुन, सर्फ, चाउचाउ, बिस्कुट, लत्ताकपडालगायत बजारभन्दा सस्तो दरमा उपलब्ध हुँदै आएको छ । सस्तो बजार सोमबार समापन हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।