मन्त्री नै भन्छन् - जनपक्षीय कानुन ठूला नेताबाट नै तुहाइन्छ
फाइल तस्बिर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरू ठूला नेताहरूको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् । सोमबार ७७ औँ विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो दाबी गरे ।

उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरूले दबाब दिने गरेको बताए । उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पुर्‍याउँदासमेत एजेन्डा नबनेको गुनासो गरे । मन्त्री कुँवरले श्रम आयोग गठन गर्ने कुरा तीन पटक मन्त्रीपरिषद्मा पठाए पनि एजेन्डा नबनाई अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । 

उनले आर्थिक वर्ष २०७८/०७९ मा श्रम प्रतिष्ठान बनाउने कुरा राखिएकाले अहिले श्रम आयोग गठन गर्न समस्या सिर्जना भइरहेको बताए । उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आयोग गर्न समय नलाग्ने बताए । मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानुनहरू संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे । उनले अर्थमन्त्री श्रम आयोग गठनका लागि तयार भए १० दिन भित्र नै श्रम आयोग गठन गर्ने ल्याकत मन्त्रालयले राखेको बताए । उनले सीप प्रतिष्ठान गठन गर्ने कुरा हालसम्म पनि मन्त्रीपरिषद्ले स्विकार्न नसकेको बताइ । 

‘यस्तो परम्परा छ । कानुन यस्ता छन्, जनताको पक्षमा आउने कानुन त्यहीँ तुहाइन्छ । जनतासँग सम्बन्धित कानुन त्यहीँ वर्षौंसम्म अल्झाइन्छ । अर्थमन्त्री तयार भए १० दिनमै श्रम आयोग गठन गर्न तयार छौँ । गठन आदेश मन्त्री परिषद्मा छ, त्यसमा किन अड्किएको हो थाहा छैन । तीन पटक पठायौँ मन्त्री परिषद्मा एजेण्डाको रूपमा आउँदैन,’ कार्यक्रममा उनले भने, ‘पछि ठाडो प्रस्तावबाट मन्त्रीपरिषद्मा राखेँ । फेरि सामाजिक समितिमा पठाइएको छ । के नियतले हो मलाई थाहा छैन । गठन आदेश भएको भए सातै प्रदेशमा सीप प्रतिष्ठानको सुरुवात गरिसक्ने थियौँ ।’

मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्ने तयारी गरिरहेको पनि बताए । उनले आफ्नो कार्यकालमा नै यस विषयलाई टुङ्गोमा पुर्‍याउने दाबीसमेत गरे । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमिकहरूलाई पनि ल्याउन सके सामाजिक सुरक्षा कोषले गति लिने विश्वास व्यक्त गरे ।

‘श्रमिकहरूको सेवा, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको बारेमा पनि यहाँहरूले लेख्नुभएको छ । श्रम मन्त्री भएको नाताले र तीन महिना काम गर्ने अवसर पाएकाले त्यहाँ भित्र रहेका श्रमिक वर्गका सवालहरूमा मसिनो गरेर अध्ययन गर्ने प्रयास गरेको छु । हामीसँग सामाजिक सुरक्षा कोष छ । त्यसमा सबै श्रमिकलाई कसरी आबद्धता गर्ने ? अनौपचारिक क्षेत्रलाई पनि त्यहाँ आबद्धता कसरी गर्ने, असंगठित क्षेत्रलाई पनि कसरी आबद्धता गर्ने ? वैदेशिक रोजगारलाई पनि कसरी आबद्धता गर्ने ? भन्ने सन्दर्भमा गम्भीर छलफल गरिरहेका छौँ,’ उनले भने ।



मन्त्री कुँवरले श्रमिकको क्षेत्रमा अझै पनि कयौँ समस्याहरू रहेको उल्लेख गर्दै श्रमिक क्षेत्रलाई कसरी मर्यादित र व्यवस्थित बनाउने भन्ने विषय अहिलेको पेचिलो विषय बन्दै गइरहेको बताए । उनले श्रम क्षेत्रलाई नेपालमा सबैभन्दा धेरै अपमानित र अव्यवस्थित गरिएको बताए । मन्त्री कुँवरले श्रमिकहरू एकजुट हुन सके समाजमा श्रमिकमाथि हुने विभेदको अन्त्य गर्न सकिने बताए ।  



  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १८:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया