भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने पक्का भएकाे छ ।
चोटका कारण केही समयअघि मात्र मैदान फर्किएका बुमराहले गम्भीर किसिमको ढाडको समस्याका कारण विश्वकप गुमाउने पक्का भएकाे भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड( बिसिसिआई) ले जनाएकाे हाे ।
उनी ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । बिसिसिआईले उनकाे स्थानमा कसलाई राख्ने भन्ने निर्णय केही दिनपछि गर्ने बताएको छ ।
बुमराहले अघिल्लो केही समयअघि अस्ट्रेलियाविरुद्ध टी-२० सिरिजको दोस्रो खेलबाट पुनरागमन गरेका थिए । भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट उनी नहुँदा बलिङ आक्रमण कमजोर हुने देखिन्छ ।
टी–२० एसिया कपमा बुमराह नहुँदाको असर देखिएको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका उनी पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् ।
बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो । चाेटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले पनि टी–२० विश्वकप गुमाइसकेका छन् ।
भारत १६ अक्टाेबरदेखि १३ सेप्टेम्बरसम्म सञ्चालन हुने विश्वकपकाे सुपर १२ अन्तर्गत समूह `बी´ छ । भारतले २३ अक्टाेबरमा पाकिस्तानविरुद्धकाे खेलबाट प्रतियोगिताकाे सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।