भारत र दक्षिण अफ्रिका टी–२० सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो म्याच आज खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः१५ देखि इन्दोरस्थित होल्कर क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
भारत आजको खेल पनि जित्दै सिरिज ‘क्लिन स्विप’ गर्न चाहन्छ । हालसम्म भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज ‘क्लिन स्विप’ गर्न सकेको छैन । ऊ आज नयाँ उपलब्धि हासिल गर्न चाहन्छ ।
भारत पहिलो र दोस्रो खेलमा क्रमशः आठ विकेट र १६ रनले विजयी भएको थियो । दक्षिण अफ्रिका सिरिजमा ‘क्लिन स्विप’ हुन बाट जोगिन चाहन्छ ।
अघिल्लो खेलमा लक्ष्य पछ्याउने क्रममा २२१ रन बनाए पनि ऊ पराजित हुन पुग्यो । पहिलो खेलमा भने दक्षिण अफ्रिकाले निकै खराब ब्याटिङ गर्यो । सो खेलमा पहिला ब्याटिङ गर्दै उसले १०६ रन मात्र बनाउन सकेको थियो ।
आजको खेलमा भारतले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वकप्तान विराट कोहली र ओपनर केएल राहुलले तेस्रो टी–२० खेल्ने छैनन् । उनीहरूले आजको खेलमा विश्राम मागेका बताइएको छ । यी दुवै ब्याटरले जारी सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।
कोहली र राहुलको स्थानमा भारतले श्रेयस अय्यर र शाहबाज अहमदले मौका पाउने सम्भावना छ । दक्षिण अफ्रिकाले रिली रुसोको स्थानमा रीजा हेन्ड्रिक्सलाई मौका दिने सम्भावना छ । रुसो जारी सिरिजको दुवै खेलमा शून्यमै आउट भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।